धर्म-सुधार र परमेश्वरको मण्डली
: लुथरको धर्म-सुधार किन अपूर्ण थियो ?

5243 읽음

सन् १५१७तिर यूरोपमा फैलिएको धर्म-सुधार अभियानचाहिँ मण्डलीको प्रवेशद्वारमा टाँसिएको एउटा पोस्टरबाट सुरु भएको हो । रोमन क्याथोलिक मण्डलीको गल्तीलाई खण्डन गरेको उक्त लेखले ख्रीष्टियान जगत्‌मा ठूलो तहल्का मच्चायो । त्यसपछि रोमन क्याथोलिक मण्डलीको दमनमा दबिएका मानिसहरू धर्म-सुधार अभियानमा उठे ।

मण्डलीमा नवीनताको ठूलो आँधी चल्यो । तर त्यहाँ अझै पनि एउटा कुरा प्राप्त हुन सकिरहेको थिएन । त्यो थियो, सत्यताको पुनर्स्थापना । येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको सत्यताचाहिँ, प्रेरितहरूले संसार छोडेपछि रोमन क्याथोलिक मण्डलीद्वारा बिस्तारै परिवर्तन हुन थाल्यो र अन्ततः नामनिशानै नरहने गरी हट्यो । धर्म-सुधारपछि धेरै धार्मिक नेताहरूले बाइबल अध्ययन गरे तर साँचो सत्यता कसैले पनि पत्ता लगाउन सकेनन् । यद्यपि बाइबलको अगमवाणीअनुसार, उचित समय भएपछि सत्यताको ज्योति प्रकट भयो र पूर्ण धर्म-सुधार अभियान गरियो । नयाँ करारको सत्यता लिएर येशूज्यू स्वयम् दोस्रो पल्ट आउनुभयो ।

१६औँ शताब्दीको धर्म-सुधार र प्रोटेस्टेन्टवादको उदय

प्रोटेस्टेन्टवाद भन्नाले १६औँ शताब्दीको धर्म-सुधारको परिणामस्वरूप रोमन क्याथोलिक मण्डलीबाट छुट्टिएर निस्केका असंख्य ख्रीष्टियान सम्प्रदायहरू हुन् । अङ्ग्रेजी भाषामा प्रोटेस्टेन्ट (Protestant)को शाब्दिक अर्थचाहिँ ‘विरोध जनाउने व्यक्ति’ हो । योचाहिँ ल्याटिन शब्द ‘प्रोटेस्टेसियो(protestatio)’बाट व्युत्पन्न भएको हो, जसको अर्थ ‘विरोध’ हो । सन् १५२९तिर जर्मनीमा डायट अफ् स्पेयर(पवित्र रोमी साम्राज्यको राजकीय डायट)मा, लुथरको धर्म-सुधारका समर्थकहरूले आफ्नो विश्वासलाई साहसका साथ व्यक्त गरे, अनि सम्राट चार्ल्स पाँचौँ लगायत रोमन क्याथोलिकको शक्तिका अत्याचारविरुद्ध आवाज उठाए । यसैबाट ‘प्रोटेस्टेन्ट’ शब्दको उत्पत्ति भएको हो ।

प्रोटेस्टेन्टवादको जन्मको पृष्ठभूमि रहेको १६औँ शताब्दीको धर्म-सुधारचाहिँ जर्मनीको विटेनबर्ग विश्वविद्यालयमा आध्यात्मविद्याका प्राध्यापक मार्टिन लुथरबाट सुरु भयो । त्यस बेला चारैतिरको भ्रष्टाचारले गर्दा रित्तिएको भ्याटिकनको आर्थिक अवस्थालाई उकास्न र सेन्ट पिटर्स बेसिलिका पुनर्निर्माण खर्च तिर्नलाई पोप लियो १०औँले पाप-मोचन पत्र बिक्री गरे । यो कुराप्रति विरोध जनाउँदै लुथरले सन् १५१७मा विटेन्बर्ग विश्वविद्यालयको छेवैमा भएको मण्डलीको प्रवेशद्वारमा ९५ बुँदा टाँसी पाप-मोचन पत्र बिक्री गर्नु गलत रहेको कुरा घोषणा गरे ।

मुक्तिचाहिँ केवल परमेश्वरको अनुग्रह र विश्वासद्वारा पाउन सकिने कुरा हो, र हाम्रो धार्मिक जीवनको केन्द्रचाहिँ बाइबल हुनुपर्छ भनेर जोड दिँदै लुथरले क्याथोलिक मण्डलीका पोपको अधिकारलाई सीधै अस्वीकार गरे । पोप, अनि आफूलाई रोमन क्याथोलिक मण्डलीका संरक्षक भन्ने पवित्र रोमी साम्राज्य(जर्मनी)का सम्राटको धम्की र सतावटको बाबजुद पनि लुथर आफ्नो अडान छोडेनन् । जर्मन राजकुमारहरू र स्वतन्त्र सहरहरूले बिस्तारै लुथरलाई समर्थन गर्न थालेकाले ‘प्रोटेस्टेन्ट मण्डली’ भन्ने नाममा नयाँ मण्डलीको उदय भयो, जुनचाहिँ पोपको दमनबाट मुक्त थियो ।

यसैबीच स्विट्जरल्यान्डका धर्म-सुधारक ज्वीङ्ली रोमन क्याथोलिक मण्डलीविरुद्धको युद्धमा मारिए । तिनीपछि फ्रान्सका केल्विनले धर्म-सुधारको मानसिकता र सिद्धान्तलाई व्यवस्थित गर्दै धर्म-सुधार अभियानलाई नेतृत्व गरे । लुथरले भन्दा केल्विनले बाइबलकेन्द्रित विश्वासलाई अझ जोड दिँदै मानव-मुक्ति परमेश्वरमा पूर्वनिर्धारित छ भन्ने पूर्वानुमानलाई जोड दिए । केल्विनको तर्कले सर्वसाधारणबाट उच्च मान्यता पायो र त्यो तर्क फ्रान्स, इङ्गल्यान्ड र नेदरल्यान्डमा चाँडै फैलियो, र धर्म-सुधार अभियानको राँको दन्कियो ।

धर्म-सुधार गरिनुका कारणहरू

१६औँ शताब्दीको धर्म-सुधारमा धेरै मानिसहरूले, पूर्ण अधिकार लिएको पोप र रोमन क्याथोलिक मण्डलीको विरुद्ध आवाज उठाएकाले तिनीहरूको जीवन धरापमा पर्न सक्ने जोखिम थियो । तरै पनि तिनीहरूले धर्म-सुधार र धर्म स्वतन्त्रताको लागि आवाज उठाउँदै धर्म-सुधारमा लाग्नुको कारणचाहिँ तिनीहरूले रोमन क्याथोलिक मण्डलीको धर्म-निरपेक्षता, घोर भ्रष्टाचार र सत्यताको विकृतिलाई अझ बढी सहन नसकेकाले गर्दा थियो ।

धर्म-सुधारको निर्णायक कारक बनेको पाप-मोचन पत्र बिक्रीचाहिँ रोमन क्याथोलिक मण्डलीको भ्रष्टाचारको प्रतिनिधि उदाहरण हो । परमेश्वरले क्रूसमा बगाउनुभएको रगतमा मात्र पाप-क्षमा छ भनेर बाइबलमा भनिएको छ (एफि १:७) । परमेश्वरको अनुग्रहद्वारा हामीले सित्तैँमा पापबाट उद्धार पाउछौं । तर रोमन क्याथोलिक मण्डलीले चाहिँ मानिसहरूलाई ‘पाप-मोचन पत्र किनेमा पापको दण्डबाट मुक्त हुन सकिन्छ’ भनेर झ्याली पिट्दै, परमेश्वरको अनुग्रहलाई पैसामा खरीद-बिक्री गऱ्यो ।

साथै पोपतन्त्रको शक्तिलाई कायम राख्न रोमन क्याथोलिक मण्डलीले न्यायिक जाँचबुझ जारी गरेर, यदि कसैले रोमन क्याथोलिक मण्डलीको सिद्धान्त अथवा पोपको कुरा मान्दैन भने उसलाई विधर्मीको संज्ञा दिएर चरम यातनाका साथ फाँसी दिने काम गऱ्यो । आफ्नो ओहदालाई कायम राख्न तिनीहरूले साधारण सन्तहरूलाई बाइबल राख्न अथवा पढ्न प्रतिबन्ध गरे । अनि साधारण सन्तहरूले बाइबलका वचनहरू बुझ्न नसकून् भनेर तिनीहरूले बाइबललाई ल्याटिन भाषामा मात्र सीमित राखे ।

पोप पदका उम्मेदवारहरूले आफू पोपको रूपमा चयनित हुन कार्डिनलहरूलाई घुस दिए, अनि हत्यासमेत गरे । पादरीहरूले निजी धन बढाउनलाई विनाहिचकिचाहट मण्डलीभित्रको पद किनबेच गर्नुका साथै मण्डलीभित्रै व्यभिचार समेत गरे । पूर्ण शक्ति हातमा लिएको रोमन क्याथोलिक मण्डली नै वास्तवमा हरेक किसिमको भ्रष्टता र अधर्मको जड हो । त्यसैले अन्ततः धर्म-सुधारकहरू उठे, र रोमन क्याथोलिक मण्डलीको भ्रष्टता र छली कुरालाई औंल्याउँदै धार्मिक स्वतन्त्रता र धर्म-सुधारको माग राखे । त्यस बेला धेरै यूरोपेलीहरूले उनीहरूको रोदनप्रति सहमति र समर्थन जनाए ।

अपूर्ण धर्म-सुधार

१६औँ शताब्दीको धर्म-सुधारले धेरै मानिसहरूलाई पोपतन्त्रको दमनबाट धार्मिक स्वतन्त्रता त दिलायो । तर त्यो नै पूर्ण धर्म-सुधार हुन भने सकेन । कारण येशूज्यूद्वारा स्थापित नयाँ करारको सत्यतालाई तिनीहरूले पुनर्स्थापन गर्न सकेनन् ।

रोमन क्याथोलिक मण्डलीको सबैभन्दा ठूलो गल्ती भनेकै त्यसले सुरुको मण्डलीको सत्यता अर्थात् येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति स्थापना गर्नुभएको नयाँ करारको सत्यतालाई हटाएर अन्य धर्मको रीतिलाई मण्डलीमा भित्र्याउनु हो । येशूज्यू र सुरुको मण्डलीले शबाथ-दिन, निस्तार-चाड आदि नयाँ करारको सत्यता मान्नुभयो । तर रोमन क्याथोलिक मण्डलीले परमेश्वरको व्यवस्था रहेको शबाथ-दिनलाई आइतबारमा परिवर्तन गऱ्यो (ई.सं. ३२१), जीवनको चाड रहेको निस्तार-चाडलाई हटाएर (ई.सं. ३२५) सूर्य देवताको जन्म-दिन रहेको क्रिसमसलाई भित्र्यायो (ई.सं.३५४) । साथै त्यसले प्राचीन अन्य धर्मको चिन्ह र रोमी साम्राज्यमा मृत्युदण्डको साधन रहेको क्रूसलाई मण्डलीको धूरीमा ठड्यायो (ई.सं. ४३१) । अनि आमा-छोराको मूर्ति पुज्ने विधिलाई स्वीकारेर मरियमको उपासनालाई तर्कसङ्गत बनायो । पाँचौँ शताब्दीतिर त्यसले दश आज्ञालाई समेत आफ्नो सिद्धान्तसँग मिलाएर जथाभावी परिवर्तन गऱ्यो ।

१६औँ शताब्दीका धर्म-सुधारकहरूले यस्ता गलत सिद्धान्तहरूलाई तोड्न सकेनन् । प्रोटेस्टेन्ट मण्डलीहरूले पनि रोमन क्याथोलिक मण्डलीले बनाएको आइतबारको सेवाजस्ता सिद्धान्तहरूलाई जस्ताको तस्तै पछ्याएर शबाथ-दिन, निस्तार-चाड आदि ख्रीष्टको शिक्षा पालन गरिरहेका छैनन् । केही धर्म-सुधारकहरूले आफ्नो धर्म-सुधार अझै पनि पूर्ण छैन भनी सोच्दै आगामी पुस्ताहरूलाई चाहिँ बाइबलकेन्द्रित सुधार गर्न आग्रह समेत गरेका छन् । कुनै एउटा ल्याटिन आदर्श वाक्यले तिनीहरूको भावलाई जाहेर गरेको छ : “Ecclesia Semper Reformanda,” जसको अर्थ हो “मण्डली सधैँ सुधार गरिनुपर्छ ।”

त्यस बेलादेखि आजको दिनसम्म धेरै धार्मिक नेताहरू र बाइबलविद्हरूले आ-आफ्नो तरिकाले बाइबलकेन्द्रित विश्वासलाई जोड दिन त खोजे । परिणामस्वरूप धेरै ख्रीष्टियान सम्प्रदायहरू उत्पन्न भयो तर तिनीहरूमध्ये कसैले पनि नयाँ करारको सत्यतालाई पुनर्स्थापन गर्न सकेनन् । अर्थात् १६औँ शताब्दीको धर्म-सुधार मात्र होइनकि त्यसपछिका अन्य सबै धर्म-सुधारहरू पनि सबै अपूर्ण नै रह्यो भन्ने कुरा हो ।

पूर्ण धर्म-सुधार आवश्यक पर्नुको कारण

धर्म-सुधारको राप सेलाउँदैजाँदा, रोमन क्याथोलिकबाट धार्मिक स्वतन्त्र भएका प्रोटेस्टेन्ट मण्डलीहरूचाहिँ अब स्वतन्त्र रूपले धार्मिक जीवन जिउन पाइने कुरामै सन्तुष्ट भए । त्यसपछि धर्म-सुधारलाई स्थगित गरेको प्रोटेस्टेन्ट मण्डलीचाहिँ समयको बहावसँगै बिस्तारै धर्मनिरपेक्ष र भ्रष्ट हुन थाल्यो ।

“हे सबै थाकेका र बोझले दबिएका हो मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” भन्ने बाइबलको वचनमा जस्तै, वर्तमानका मण्डलीहरूमा ‘विश्रामस्थल’ भेट्टाउन गाह्रो छ । ‘मण्डलीको अधिकार’ हातमा लिएका केही प्रसिद्ध पास्टरहरू मण्डलीको सम्पत्ति आफ्ना सन्तानहरूलाई हस्तान्तरण गर्छन्, राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्छन् र तत्कालीन राष्ट्रपतिजस्तो व्यक्तिलाई समेत घुँडा टेकाएर आफ्नो प्रतिष्ठा देखाउँछन् । मण्डलीचाहिँ संसारको नून र ज्योति हुनुपर्ने तर उल्टै समाजको रोग बनिरहेको यथार्थतालाई मण्डलीका सदस्यहरूले आधारभूत रूपमा हृदयङ्गम गरी धर्म-सुधारको लागि साहसका साथ पाइला चाल्नुपर्छ । के पादरी पद किनबेच गरिने मण्डलीमा मुक्ति छ ? ‘ग्यङह्याङ सिन्मुन’, सन् २०११ जून २१

वर्तमानका प्रोटेस्टेन्ट मण्डलीहरू ५०० वर्षअघिको रोमन क्याथोलिक मण्डलीभन्दा केही फरक छैनन् । नैतिकता र शिष्टता सजिलै त्याग्न पुगिने यस्तो अस्तव्यस्त संसारमा, मण्डलीले मानिसहरूलाई सही तरिकाले जीवन जिउन निर्देशन दिनु त परै जाओस्, मण्डलीहरू आफू नै भ्रष्टचार र अधर्मको शिकार बनिरहेका छन् । १६औँ शताब्दीको धर्म-सुधारका पछिल्ला पीढीहरूमा नै धर्म-सुधारको खाँचो छ ।

परिणामस्वरूप, ख्रीष्टले उदाहरण देखाइदनुभएको र बाइबलमा अभिलेख गरिएको सत्यता रोमन क्याथोलिक मण्डली र प्रोटेस्टेन्ट मण्डली कुनैमा पनि भेट्टाउन सकिँदैन । यो नै १६औँ शताब्दीको धर्म-सुधारको प्रतिफल हो । धेरै मण्डलीहरू सत्यताभन्दा पनि संसारको भौतिक कुराको लालसा गर्दै भ्रष्टताको मार्गमा हिँडिरहेका छन् । २,००० वर्षअघि येशूज्यूको अगमवाणीजस्तै, संसारमा मुक्ति पाउन गोग्यको विश्वास भेट्टाइने समय आएको छ (लूक १८:८) । यस्तो अवस्थामा यदि परमेश्वरले तुरुन्त संसारलाई इन्साफ गर्नुभयो भने मुक्ति पाउने मानिस एक जना पनि हुनेछैन । कारण परमेश्वरलाई लगनशीलताका साथ विश्वास गर्छु भने तापनि परमेश्वरको इच्छाविपरीतका अधर्म कामहरू गरियो भने कदापि स्वर्ग प्रवेश गर्न सकिँदैन (मत्ती ७:२१-२३) । यसकारण यो युगमा सन्तहरूको मुक्तिको निम्ति पूर्ण धर्म-सुधार गरिन आवश्यक छ ।

पूर्ण धर्म-सुधार गर्नुहुने दोस्रो आगमनका येशूज्यू

पूर्ण धर्म-सुधारका अग्रणी

नयाँ करारको सत्यतालाई हटाएर अन्य धर्मको रीति र सिद्धान्तलाई भित्र्याएको रोमन क्याथोलिक मण्डली, अनि रोमन क्याथोलिक मण्डलीको सिद्धान्तलाई पछ्याउने प्रोटेस्टेन्ट मण्डली दुवै सम्प्रदाय पूर्ण धर्म-सुधारका अग्रणी हुन सक्दैनन् । मानिसको अपूर्ण क्षमता र निर्णयबाट पूर्ण धर्म-सुधार हुनु असम्भव कुरा हो । योचाहिँ केवल परमेश्वर, अर्थात् ख्रीष्टले मात्र गर्न सक्नुहुन्छ ।

मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ । धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ … स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चडेर उहाँको पछिपछि लागे … उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ । प्रका १९:११-१६

‘सेतो घोडामा सवार हुनुहुने’लाई ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनिएको छ । यसले थुमा हुनुभएका येशूज्यूलाई जनाउँछ (प्रका १७:१४), जो दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । किनकि सेतो घोडामा सवार हुनुहुने र स्वर्गीय सेनाहरूले ‘पशु’को विरुद्धमा युद्ध गर्नेछन् भनिएको छ ।

अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें । तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे …प्रका १९:१९-२०

प्रकाश अध्याय १३को अगमवाणीअनुसार सेतो घोडामा सवार हुनुहुनेसँग युद्ध गर्ने पशुले ४२ महिना शासन गर्ने अधिकार पाई परमेश्वरको विरुद्धमा बोल्नेछ र परमेश्वरका जनहरूलाई अत्याचार गर्नेछ (प्रका १३:५-७) । अर्थात् शैतानले धार्मिक अन्धकारको युगमा संसारको सार्वभौमिक शक्ति लिएर राज्य गर्नेछ भन्ने कुरा हो । यहाँ ‘सेतो घोडामा सवार’ हुनुभएर पशुसँग युद्ध गर्नुहुने व्यक्ति निश्चित दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ ।

यदि दोस्रो आगमनका येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा महिमामा प्रकट हुनुभयो भने कसैले पनि उहाँको विरुद्धमा युद्ध गर्ने आँट गर्न सक्नेछैन । तर त्यस पशुले दोस्रो आगमनका येशूज्यूसँग ‘युद्ध गर्नेछ’ भनेर अगमवाणी गरिएको छ । योचाहिँ येशूज्यू दोस्रो पल्ट शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो । त्यसोभए यो युद्धमा कसको जित हुन्छ होला ?

तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ । उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य हुन् । प्रका १७:१४

बाइबलमा थुमा हुनुभएका दोस्रो आगमनका येशूज्यू र उहाँको साथमा हुने सन्तहरूको जित हुनेछ भनेर अगमवाणी गरिएको छ । शरीर धारण गरेर यो पृथ्वीमा फेरि आउनुहुने येशूज्यू अग्रणी हुनुभई त्यस पशुको रूपमा सङ्केत गरिएको रोमन क्याथोलिक मण्डलीका गलत सिद्धान्तहरूलाई इन्साफ गर्नुहुनेछ, र त्यसको कब्जामा परेका सन्तहरूलाई मुक्त गर्नुहुनेछ । तसर्थ पूर्ण धर्म-सुधारचाहिँ येशूज्यू फेरि आउनुभएमा मात्र पूरा हुन सक्छ ।

धर्म-सुधार र निस्तार-चाड

रोमन क्याथोलिक मण्डलीले गैर-ईसाई धर्मका रीतिरिवाजलाई भित्र्याएर आफ्नो सिद्धान्त बनायो, अनि प्रोटेस्टेन्ट मण्डलीले चाहिँ क्याथोलिकको सिद्धान्तलाई पछ्याइरहेको छ । त्यसोभए दोस्रो आगमनका येशूज्यूले कुन सत्यताद्वारा तिनीहरूलाई इन्साफ गर्नुभएर धर्म-सुधार कार्य गर्नुहुन्छ होला ? त्यो नै अन्य देवताहरूको इन्साफ गर्ने प्रतिज्ञा रहेको निस्तार-चाड हो ।

३,५०० वर्षअघि परमेश्वरले निस्तार-चाडद्वारा, इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा गराउनुभयो । त्यो समयमा मिश्रका राजा फारोले ९ वटा विपत्ति झर्दासम्म पनि इस्राएलीहरूलाई जान दिएको थिएन । जसमध्येको एउटा कारणचाहिँ मिश्रीहरूका पनि आफ्नै देवताहरू थिए, जसमा तिनीहरूले विश्वास र भरोसा गर्थे (प्रस ७:१०-१३, २०-२२; ८:६-७) । यसकारण परमेश्वरले निस्तार-चाडद्वारा तिनीहरूका सबै देवताहरूलाई इन्साफ गर्नुभयो ।

यो परमप्रभुको निस्तार-चाड हो । “त्यस रात … मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ ।”प्रस १२:११-१२

यसरी परमेश्वरले पहिलो पटक निस्तार-चाड स्थापना गर्नुहुँदाको समयदेखि नै यसलाई अन्य देवताहरूलाई इन्साफ गर्ने दिनको रूपमा तोक्नुभयो । यस्तो इतिहास प्रस्थानको समयमा मात्र होइन तर हिजकिया राजा र योशियाह राजाको समयमा पनि घटेको थियो । लामो समयदेखि नमनाइएको निस्तार-चाड, हिजकिया राजाको पालामा मनाइएपछि मानिसहरूले आफूले त्यतिञ्जेल पुज्दैआएका सबै मूर्तिहरूलाई नष्ट गरे (२ इति ३०:१-५; ३१:१) । योशियाह राजाले पनि परमेश्वरलाई विश्वास गर्न त गर्थे, तर आफूले थाहै नपाई मूर्तिलाई सेवा गरिरहेका थिए । तर जब तिनले निस्तार-चाड माने, तब आफूले सेवा गरेको कुरा मूर्ति रहेछ भनी तिनले महसुस गरे, र ती सबै मूर्तिलाई नष्ट गरिदिए (२ राज २३:१-२५) । त्यसरी निस्तार-चाड मानेपछि, परमेश्वरको वचनअनुसार अन्य सबै देवताहरूको इन्साफ भयो ।

युग फरक भए तापनि निस्तार-चाड मानेपछिको परिणामचाहिँ उस्तै छ । निस्तार-चाडचाहिँ परमेश्वरबाहेकका अन्य देवताहरूको विनाश हुने परमेश्वरको शक्तिको दिन हो । यो युगमा पनि अन्य सबै देवताहरूको इन्साफ गर्ने निस्तार-चाड देखा परेमा मात्र पूर्ण धर्म-सुधार पूरा हुन्छ ।

यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखें । तिनको वैभवले पृथ्वी उज्यालो भयो … “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखडा भएको छ ।”प्रका १८:१-२

बाइबलमा पक्षीले शैतानलाई जनाउँछ (लूक ८:४-५, ११-१२) । पृथ्वी नै उज्यालो हुने परमेश्वरको वैभवको ज्योतिले हरेक भूतहरू, अशुद्ध आत्माहरू र शैतानको अखडालाई उदाङ्गो पारिदिनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । त्यो वैभवको ज्योति भनेकै अन्य देवताहरूको इन्साफ गर्ने नयाँ करार निस्तार-चाडको सत्यता हो ।

अन्तिम धर्म-सुधार र आन साङ होङज्यू

२,००० वर्षअघि येशूज्यूले निस्तार-चाडद्वारा नयाँ करार स्थापना गर्नुभयो (लूक २२:१४-२०) । तर येशूज्यूले मान्न ठूलो इच्छा गर्नुभएको नयाँ करार निस्तार-चाड शैतानको विरोधले गर्दा ई.सं. ३२५मा निकेयाको सम्मेलनद्वारा हटाइयो । त्यसपछि लामो समयसम्म कसैले पनि नयाँ करार निस्तार-चाड मान्न सकेन । परमेश्वरको निन्दा गर्ने त्यस पशुले परमेश्वरका जनहरूलाई जित्नेछ भनिएको अगमवाणीअनुसार येशूज्यूले स्थापना गर्नुभएको मुक्तिको सत्यता कसैले पनि पालन गर्न सकेन ।

यस्तो अवस्थामा पशुसँगको युद्धमा विजयी हुनुहुने व्यक्तिचाहिँ प्रकाश अध्याय १९मा भनिएको ‘सेतो घोडामा सवार हुनुहुने’ अर्थात् दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । अर्थात् येशूज्यू फेरि शरीरमा आउनुभएर निस्तार-चाड पुनर्स्थापन गरिदिनुहुनेछ । दोस्रो आगमनका येशूज्यूले, अन्य देवताहरूको इन्साफ गर्ने निस्तार-चाडको सत्यता पुनर्स्थापन गरिदिनुभएपछि भूतहरूको वासस्थान पर्दाफास हुनेछ र मूर्तिहरू सबै नष्ट हुनेछ भनेर प्रकाश १८:१-२मा अगमवाणी गरिएको छ । यसकारण पूर्ण धर्म-सुधार हुनको लागि येशूज्यूले निस्तार-चाडको सत्यता लिएर दोस्रो पल्ट आउनैपर्छ ।

यो अगमवाणीअनुसार नयाँ करार निस्तार-चाड लिएर आउनुभएका व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू हुनुहुन्छ । करीब १,६०० वर्षसम्म कसैले पनि नजानेको नयाँ करार निस्तार-चाडको सत्यता आन साङ होङज्यूले सिकाइदिनुभई, रोमन क्याथोलिक मण्डली र प्रोटेस्टेन्ट मण्डलीभित्र भएका सबै सैद्धान्तिक मूर्तिहरूलाई नष्ट गरिदिनुभयो । साथै उहाँले सृष्टिकर्ताको सम्झना गर्ने शबाथ-दिन, छुटकाराको सम्झना गर्ने निस्तार-चाड, बाइबलमा भएको पुनरुत्थानको दिन, पेन्तिकोसको दिन, छाप्रो-वासको चाड, स्त्रीको घुम्टोको नियम इत्यादि नयाँ करारका सम्पूर्ण चाड र धर्मविधि पुनर्स्थापन गरिदिनुभयो । रोमन क्याथोलिक मण्डलीद्वारा परिवर्तन हुनुअघिको सुरुको मण्डलीको विशुद्ध सत्यता र विश्वासलाई उहाँले पुनर्स्थापन गरिदिनुभएर पूर्ण धर्म-सुधार गरिदिनुभई मानव-जातिका लागि मुक्तिको मार्ग फेरि खोलिदिनुभयो । यसरी स्थापना भएको मण्डली नै परमेश्वरको मण्डली हो । अधर्मले भरिएको संसारमा मुक्तिको सत्यता, नयाँ करार सुसमाचार सुनाउने, र साँचो धर्म-सुधार पूरा भएको मण्डली नै बाइबलकेन्द्रित सही विश्वास लिएको परमेश्वरको मण्डली मात्र हो ।

FacebookTwitterEmailLineMessage
सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기